सभासदले अमेरिकामा थुक्न पाएनन्

अन्तरवार्ता | Yuba Bahas | March 8, 2010 at 7:02 pm


चित्रबहादुर केसी, सभासद
सत्तरीवर्षे कम्युनिष्ट नेता चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् हुन् । बाग्लुङ्गबाट प्रत्यक्ष चुनाव मार्फत् सभासद बनेका केसी उखान टुक्काहरु प्रयोग गरेर भाषण गर्नमा खप्पिस मानिन्छन् । जीवनभर ‘अमेरिकी साम्राज्यवाद’ को विरोध गर्दै आएका केसीले बुढेसकालमा ७ दिनका लागि मात्रै भए पनि अमेरिका टेक्न पाउँदा कस्तो अनुभूति गरे होलान् ? काठमाडांैको घट्टेकुलोमा अवस्थित उनको डेरामै पुगेर जिज्ञासा राख्दा केसीले अमेरिकाको मुक्तकण्डले प्रशंसा गरे । वीचमा उनी भन्दैथिए, हामी अमेरिकासित राजनीतिक रुपमा चाँहि सहमत छैनौं । साधा जीवन बिताउँदै आएका र भ्रष्टाचारको प्रखर विरोधीका रुपमा चिनिने केसीले सबैभन्दा रोचक कुरा त के सुनाए भने अमेरिकामा एकजना माओवादी सभासदले खैनी खाएर थुक्नसम्म पाएनछन् ।

० तपाइले अमेरिका कहिले टेक्नुभएको ?

- दुई वर्षअघि यूएनको साधारणसभामा गएको थिएँ ।

० कति दिन बस्नु भयो ?

करिब एकसाताजति बसियो ।

० कता-कता घुम्नुभयो ?

धेरैठाउँ घुमिएन । न्यूयोर्क र वासिंटनमात्रै ।

० अमेरिका यात्रामा केही रोचक कुरा पनि भए कि ?

- एकदिन हामी आफुहर बसेको होटलबाट संयुक्त राष्ट्रसंघको कार्यालय जाने बेलामा मेरा साथमा एकीकृत माओवादीका सभासद् एनके प्रसाई पनि गाडीमा हुनुहुन्थ्यो । उहाँ र म एउटा गाडीमा गइराखेका थियौं । हामी त केही मेसो नपाउने मान्छे, यूएनको गाडीले हामीलाई लगिराखेको थियो । त्यो गाडीका ड्राइभरचाँहि नेपाली नै रहेछन् । एनके प्रसाईले खैनी खाँदारहेछन्, बाटामा जाँदै गर्दा उनले खैनी मुखमा च्यापेर ड्राइभरलाई भने- ‘ए गुरुजी, एकछिन गाडी रोक्नोस् त, मैले यहाँ मुखमा खैनी हालेको छु, बाहिर थुक्नुपर्ने भयो ।’ अमेरिकी सोसाइटीमा मजाले भिजिसकेका पोखराका ठिटा ड्राइभरले ठाडै हकारे- ‘यो तपाईको नेपाल हो र खैनी खाएर गाडीबाट थुक्ने ? खल्तीबाट रुमाल झिकेर रुमालमा थुक्नोस् त्यसपछि बेलुका क्वाटरमा गएर रुमाल सफा गर्नाेस् । यहाँ तपाईको नेपालमा जसरी बाटामा थुक्न पाइँदैन ।’

० यो घटनाले तपाईलाई कस्तो महसुस गरायो ?

- मलाई पनि लाजै लाग्यो । हामी सभासद जस्तो मान्छे । पछि काठमाण्डौ फर्किएर आइसकेपछि काठमाडौंमा फोहोरसम्बन्धी विषयमा अन्तरिक्रिया कार्यक्रममा आयोजना भएको थियो । संयोगले एनके प्रसाईजी नै माओवादीका तर्फबाट अतिथि बनेर आउनुभएको रहेछ, म पनि थिएँ । मैले कार्यक्रममा अमेरिकामा भएको कुरा भनें । हाम्रा सभासदले अमेरिकामा खैनी खाएर बाटामा थुक्न खोज्दाखेरि यस्तोसम्म हामीले अनुभव गर्‍यौं भनेर मैले सुनाएपछि कार्यक्रमभरि यही कुराले चर्चा पायो ।

० भनेपछि अमेरिकामा काठमाडौंमा जसरी जतात्यतै फोहोर गर्न नपाइने रहेछ ?

- अमेरिकामा नियम राम्रो रहेछ । सोसाइटीमा अनुशासन रहेछ । साँच्चै विधिकै शासन रहेछ त्यहाँ । यद्यपि हामीले अमेरिकी साम्राज्यवादको विरोध गर्दछौं । तर त्यहाँ जुनखालको सिस्टम छ, ती सबै कुरा मलाई धेरै राम्रो लाग्यो ।

० तपाईले ६८ वर्षको उमेरमा पहिलोपटक अमेरिका टेक्नुभएको हो, नेपालमा बसेर अमेरिकाको बारेमा बनाएको पूर्वधारणामा यो छोटो भ्रमणले कत्तिको परिवर्तन ल्यायो ?

- हामी धेरै कुरामा पछाडि छौं भन्ने महसुस भैहाल्यो नि मलाई । बसमा हिँड्दा, रेलमा हिँड्दा हामी सामान्य अनुशासनकै कुरामा पछाडि छौं भन्ने लाग्यो मलाई ।

० अमेरिकाको तपाईलाई राम्रो लागेको कुरा के हो ?

- सिस्टमै हो । अर्काे मलाई राम्रो लागेको कुरा के हो भने हामीकहाँ अझै सामन्ती व्यवस्था र संस्कृति छ, शारीरिक श्रम गर्नु नेपालमा घृणाको कुरा हुन्छ, सानो मान्छे भइन्छ । अमेरिकामा मैले होटेल रेस्टुरामा असाध्यै राम्रा जवान केटाकेटीहरुले हाँसीखुशीका साथ भाडा माझिरहेको देखें । यसले मलाई असाध्यै प्रभावित बनायो । श्रमलाई सम्मान गरेको मैले त्यहाँ देखें । श्रमकै कारणले मान्छे सभ्य हुँदो रहेछ । श्रमप्रतिको यस्तो आदरले गर्दा म असाध्यै प्रभावित भएँ । हामीकहाँ त सामन्तवादी संस्कार छ, शारीरिक श्रम गर्‍यो भने इज्जत जान्छ, सानो भइन्छ भन्ने धारणा छ । हामी त धेरै पछाडि रहेछौं भन्ने लाग्यो । अमेरिकाले साना मुलुकहरुमाथि जसरी आतंक अमच्चाएको छ त्यसप्रति हाम्रो विरोध छ तर, त्यसका बाबजुद पनि अमेरिकामा भौतिक सम्पन्नता छ । आप्रवासीहरुलाई उनीहरुले राम्रोसित व्यवस्थापन गरेका छन् । बाटोघाटो उच्च तहको छ । हामी त कति पछि छौं कति ।

० नेपालका धेरै नेता र मन्त्रीहरूले अमेरिकाको भ्रमण गर्ने गरेका छन् । तर, किन उनीहरुले हाम्रो मुलुकलाई पनि यस्तै बनाऔं भनेर सोच्दैनन् ?

- उनीहरुमा यसखालको संस्कार नै भएन । एकैछिन अमेरिका हेरेर रल्ल परेर के गर्ने ? के कारणले त्यहाँ विकास भयो, के कारणले मानिसहरु घुस खान डराउँछन् भन्ने कुरा सिकेर स्वदेशमा कार्यान्वयन गर्नुपर्ने हो । त्यसो गर्ने क्षमता हाम्रा नेापलीहरुमा भएन । एकछिन देख्छन्, वाल्ल पर्छन् र नेपालमा र्फकेर त्यहाँ भएको विकासका बारेमा आˆना नातागोतालाई बताउँछन्, यत्ति हो । तर, यसलाई कार्यान्यन गर्न सक्दैनन् ।

० तपाईले अमेरिकी समाजमा आफुलाई मन नपरेका पक्षहरु के के पाउनुभयो ?

- मैले छोटो समयमा सबै कुराको गहिरिएर अध्ययन गर्न र बुझ्न पाइँन । तर मलाई एउटा कुराचाँहि खड्कियो । नेपालीहरुले एउटा कार्यक्रममा बोलाएका थिए, नेपालमा चाँहि पाउना गएपछि उसलाई सत्कार गर्ने चलन हुन्छ, तर त्यो कार्यक्रममा उनीहरुको निम्तो मान्न गएको त एकजनाले २० डलरका हिसाबले पैसा पो तिर्नुपर्‍यो । यो सिस्टम मलाई अलि अप्ठ्यारै लाग्यो । तर, मैले त तिरिँन, मलाई लिएर जाने साथीले तिर्नुभयो । हाम्रो देशमा चाहिँ कसैले निम्तो गरेर बोलायो भने बोलाउनेले नै खर्च गर्ने परम्परा छ । त्यहाँ त गेष्टले नै पैसा तिर्नु पर्ने ।

० नेपालका कम्युनिष्टहरूले ‘पश्चिमा अश्लील संस्कृति’ भन्ने गर्छन्, त्यस्तो देख्नुभयो त ?

- त्यो त हामीलाई पच्दैन । म वेलायत गएँ, स्कटल्याण्ड पनि गएँ, त्यहाँ जुनखालले केटाकेटीहरुले गतिविधि गरे, त्यो हामीलाई पच्दैन । मलाई त्यो मन परेन ।

० अमेरिका बस्ने नेपालीहरूको अवस्था कस्तो पाउनुभयो ?

उनीहरुसित मैले संगत गरें, उनीहरुले कार्यक्रममा बोलाए । उनीहरुले नेपालका बारेमा जति चिन्ता गरे, त्यति चिन्ता नेपालमा बस्नेहरुलाई कमै हुन्छ । अमेरिकामा बसेर पनि नेपालीहरुले सबै प्रकारका दुख गरेका छन् । नेपालको बिग्रँदो आर्थिक, सामाजिक र राजनीतिक अवस्थाका बारेमा उनीहरुको चिन्ता छ । मलाई के लाग्यो भने विदेशमा बसे पनि नेपालीहरुमा आˆनो देशप्रति सद्भावना छ । मलाई यसमा असाध्यै खुशी लाग्यो । अमेरिका भने पनि उनीहरुले अनेक प्रकारका दुख गरिरहेका छन् । एउटै कोठामा धेरै मान्छे बसेको देखियो । ड्युटी कडा छ । ‘अमेरिका गएको छ’ भनेर हामीले भने पनि तर नजिकै गएर उनीहरुको रहन-सहन हेर्दाखेरि उनीहरु सन्तुष्ट भएको मलाई लागेन ।

० अब थोरै नेपालको राजनीतिक प्रशंगका बारेमा कुरा गरौं, तपाइ सभासद पनि हुनुहुन्छ, जेठ १४ भित्रमा तपाइहरु संविधान बनाउनुहुन्छ कि बनाउनु हुन्न ?

- यो त ठूला पार्टीहरुको हातको कुरा हो । उनीहरु अहिले पनि सत्ताकै लागि छिनाझपटी गरिराखेका छन् । जनताको पिरमर्का भन्दा पनि घुस खानेतिर लागेका छन्, सरकारमा बस्नेहरु । संविधान बन्नेकुरालाई प्राथमिकतामा राख्नुभन्दा पनि सत्तामा जाने भन्ने बनाएका छन् । सत्ता बाहिर बसेकाहरुमा कसरी सत्तामा जाने भन्ने चिन्ता छ, सत्तामा बसेकाहरु जुनसुकै मूल्य चुकाएर भए पनि कसरी सत्तामा अडिइराख्ने भन्ने चिन्तामा छन् । यही भएर समस्या सिर्जना भइरहेको छ । तर अहिले पनि जनआन्दोलनकारी राजनीतिक शक्तिहरु मिलेर संविधान बनाऔं त नि भनेर लाग्ने हो भने संविधान बन्ने मिति गैसक्यो म भन्दिँन । संविधान निर्माणका धेरै पूर्वाधारहरु तयार भएका छन्, सबै समितिले अवधारणाहरु तयार पारिसकेका छन् । तर, समस्या के छ भने आˆनो पार्टीको घोषणापत्रमा लेखिएका कुराहरुलाई नै संविधानमा नघसाई हुँदैन भन्ने ठूला पार्टीले अड्को थापेका छन् ।

० राष्ट्रिय जनमोर्चाले संघीयतामा जानु हुँदैन भनिरहेको छ, तपाइहरुले संघीयताको विरोध गर्नुको कारण के हो ?

- अमेरिकामा बसेका साथीहरुलाई त थाहा छ नि अमेरिकामा पनि संघीय प्रणाली छ । तर अमेरिकाले नै संघीय प्रणाली लेख्दैन । १३ वटा राज्यहरु संघमा आवद्ध नभएको भए विदेशीले एक्लो पारेर हडप्ने भएपछि उनीहरु संघीयतामा गएका हुन् । हामी त बाइसे चौविसे राज्यहरु मिलेर राष्ट्र बनेकोलाई टुक्राएर संघीय प्रणालीमा जान खोज्दैछौं । संघीय प्रणालीमा जानुपर्ने अवस्था र स्थिति नेपालको छँदै छैन । यसमा पनि २२ जिल्ला मधेसलाई मधेसका सामन्तहरुले एक मधेस एक प्रदेश भनेर टुक्राउन खोज्दैछन् । १०-८ वटा जातिलाई राज्य दिनुपर्छ भनिँदैछ । शाहबंशीय जातीय राज्य विरुद्ध नेपाली जनताले लडे, अहिले तिनै जातिलाई राज्य दिने र अरु जातिहरु तिनका टाँगमुनि छिरेर बस्नुपर्ने भनिँदैछ । यसकारणले जातीय आधारमा संघीय प्रणालीमा जानु भनेको मुलुकलाई रुवान्डा र युगोस्लाभिया बनाउनु हो । त्यसैले अमेरिकामा रहेका नेपालीहरुले पनि देशलाई बचाउनका लागि भूमिका खेल्नुपर्दछ ।

०विदेशमा बस्ने नेपालीले देशलाई जर्जर अवस्थाबाट जोगाउन कसरी भूमिका खेल्न सक्छन् ?

- वहाँहरुले ०६२/०६३ को आन्दोलनमा पनि भूमिका खेल्नुभयो । ०४६ को आन्दोलनमा पनि अमेरिकामा बस्ने बुद्धिजीवीहरुले भूमिका खेल्नुभयो । अहिले नयाँ संविधानमा संघीयता नलेखिँदै जातिहरुका वीचमा द्वन्द्व चर्किन थालेको छ । कमसेकम उहाँहरुले अमेरिका बसेर नोकरी गरे पनि अहिलेसम्म हाम्रो देश छ भन्न पाउनुभएको छ, त्यसैले मुलुकलाई दुर्घटनातिर जान नदिने वातावरण र सहयोग उहाँहरुले गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

Leave a Reply