जिरो साइज बनाउँदैछु : सौजन्य सुब्बा

अन्तरवार्ता | Yuba Bahas | March 9, 2010 at 6:23 pm


सात वर्षअघि टेलिचलचित्र पुरुष बाट अभिनय यात्रा थालेर सानो पर्दामा सफल भएकी नायिका सौजन्य सुब्बा अहिले कथानक चलचित्रहरूमा व्यस्त छिन्। साहित्य र नृत्यमा विशेष सोख राख्ने सौजन्यसँग छोटो वार्ताः

٭ठूलो पर्दा पनि फापे जस्तो छ नि?
धमाधम आइरहेका कामका प्रस्तावहरूले नफापेको भन्न दिँदैन। अफर धेरै आए पनि छानेर सुहाउँदो भूमिका मात्रै गरिरहेकी छु।

٭अहिले केमा व्यस्त नि?
चलचित्र टक्कर दुई मुटुको भर्खरै प्रदर्शन शुरु भएको छ। भोजपुरी फिल्म साथी रे को छायाङ्कन सकियो। औजार को छायाङ्कन अन्तिम चरणमा छ। स्वाभिमान र म छु नि तिम्रो को छायाङ्कन चाँडै शुरु हुदैछ। यी कामसँगै नयाँ लुक्स का लागि तौल घटाउन पनि लागिपरेकी छु।

٭शरीर नघटाई टिक्न नसकिने भयो?
धेरै चलचित्रमा आएको टिन एजर को भूमिका आफूलाई सुहाउँदैन जस्तो लागेर खेलिनँ। अब चाहिँ जिरो फिगर बनाएर नयाँ गेट अपमा आउने तयारीमा छु। दिनको २/३ घण्टा त व्यायाम नै गरिरहेछु। ५९ किलोबाट ५० मा आइसकेँ। तर, ४८ किलोमा र्झ्नु छ।

٭सानो पर्दालाई चाहिं माया मारेकै हो?
छैन, पहिलेभन्दा कम भएको मात्र हो। तराई टेलिभिजनबाट प्रसारित साइनो कस्तो कस्तो मा खेलिरहेकी छु। प्रसारण हुन बाँकी ८/९ वटा डमी सिरियल छन्। म्युजिक भिडियोहरूमा पनि काम गरिरहेकै छु।

٭यो क्षेत्रमा सात वर्ष बिताउँदा कस्तो महसुस भइरहेछ?
चलचित्र क्षेत्र पनि प्रगतिमै छ। व्यक्तिगत रूपमा पनि मैले पछाडि फर्केर हेर्नु परेको छैन। कामले आत्मनिर्भर बनाएको छ। दर्शकहरूको माया पाइरहेकी छु।

٭नयाँ चलचित्रबाट कत्तिको आशा छ?
राजधानी बाहिरबाट शुरु भएको टक्कर दुई मुटुको प्रदर्शन राम्रै भयो। अरू चलचित्रको अफरहरू आउन थालेका छन्। तौल घटाएर मज्जैले लाग्ने तयारीमा छु। भोलिको दिनमा अझ् सफल हुन्छु भन्ने आशा र विश्वास छ।

Leave a Reply