समयमैं संविधान लेख्ने २५ दलहरूको साझा प्रतिबद्धता

तस्विर समाचार | Yuba Bahas | March 9, 2010 at 9:18 pm


आपसी कलहमा अल्झिएका प्रमुख सहित संविधानसभाका सबै दलहरुले समयमै नयाँ संविधान लेख्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।नयाँ संविधान जारी गर्न अब ८० दिन मात्र बाँकी रहेका बेला संविधानको मस्यौदा तयार पार्ने मुख्य जिम्मा पाएको संवैधानिक समितिले डाकेको विशेष बैठकमा उनीहरुले त्यस्तो प्रतिबद्धता प्रकट गरेका हुन्।

संविधान लेखनमा बाधक बनेको आरोप लगाउने सत्तापक्ष र प्रमुख प्रतिपक्षि एकिकृत नेकपा माओवादी कसैले पनि म्याद थप्ने विषयमा मुख नखोली एकै स्वरमा समयमै संविधान लेख्ने प्रण गरेका छन्।बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले भने,समयमै संविधान जारी होस् भन्ने जनताको चाहना अनुसार हामीले काम सक्नु पर्छ।प्रधानमन्त्री माधवकुमार नेपालले पनि त्यस्तै वाचा र विश्वास व्यक्त गरे।उनले भने, शान्ति प्रकृयालाई समयमै टुंगो लगाई देखिएका मतभेदलाई सूचिकृत गरी छलफल गर्दै समयमै संविधान जारी गर्न सकिन्छ।

आफ्नो २४ महिने आयुको २१ महिनाभन्दा बढी समय बिताइसकेको संविधानसभा,संविधान लेखनको निम्ति आफैँले बनाएको १५ वटा चरण मध्ये अहिले छैठौँ चरणमै छ। महिना दिनअघि ११ वटै समितिहरुका विषयगत प्रतिवेदनहरु पाउनुपर्ने संवैधानिक समितिमा अहिलेसम्म दुईवटा प्रतिवेदनमात्र पुगेका छन्।संवैधानिक समितिका सभापति निलाम्वर आचार्य बाँकी रहेको ८० दिनमध्ये ३० दिन त आफ्नै समितिलाई चाहिने बताउँछन्।

उनको भनाइ छ,एघारवटा समितिको प्रतिवेदनमाथि छलफल चलाई संविधानको मस्यौदाको रुपमा ढाल्न कम्तिमा पनि महिनादिन लाग्छ। दलहरुको पछिल्लो प्रतिबद्धतापछि १०औं पटक संशोधन गरी कार्यतालीका त्यसै अनुसार मिलाइएको छ। बाँकीको ५० दिनमा दलहरुबीच शासनको स्वरुप र संरचनाबारेको चर्को मतभेद सल्टाउनुका साथै संविधानसभाको पूर्ण सभामा बुँदागत बहस सक्नु पर्नेछ।

Leave a Reply