एउटै मान्छेले कति खाने ?
अन्तरवार्ता | Yuba Bahas | April 3, 2010 at 6:54 am
प्रविधिसित परिचित हुनुपरेको अवस्था र यहाँको एकेडेमिक अवस्थालाई पछ्याउन गर्नु परेको संघर्ष चाहिँ मेरा लागि च्यालेञ्जिङ रह्यो । तर, यी सबैबाट म रमाउन सिकें र रमाइरहेको छु ।
० अहिले तपाई विश्वको प्रतिष्ठित विश्वविद्यालय र त्यसको पनि प्रतिष्ठित जोन अफ केनेडी स्कूलअफ गभर्नेन्समा पढ्दै हुनहुन्छ । कस्तो लागिरहेको छ यहाँको एकेडेमिक वातावरण ?
- यसलाई हारवर्ड केनेडी स्कुल भन्छन् । यसका निश्चित मौलिकता र विशेषताहरु छन्, जसले गर्दाखेरि एउटा संसारको आकर्षणका रुपमा रहेको छ र यसले सार्वजनिक नीति र लिडरशीप यी दुईवटा विषयमा आफूलाई स्थापित गर्न सकेको छ । यहाँका ३/४ वटा पक्षहरु मलाई असाध्यै महत्वपूर्ण लागे । एउटा, स्कुलको मिसनले नै के भन्छ भने तिमीले के गर्न सक्छौ ? यहाँबाट उसले सोध्छ र त्यो मान्छेको के मिसन छ, त्यो गर्न सक्ने कसरी बनाउने भन्ने मिसन लिएर यो स्कुल लागेको हुनाले उसित यतिधेरै विधाहरु छन् । ती विभिन्न विधाहरुमा मान्छेले सोचेको क्षेत्रभित्रको विधामा गएर डेलिभरी गर्न सक्ने क्षमतावान् बनाउन सक्ने उनीहरुको विशेषता छ । दोस्रो, महत्वपूर्ण पक्ष भनेको यहाँको रिसोर्स नै हो । यति धेरै रिसोर्स छन् यहाँ । प्राध्यापकहरुको रिसोर्स संसारभरिको छ । यहाँ भएका पाठ्य सामग्रीहरुको रिसोर्स असाध्यै महत्वपूर्ण कुरा हो । तेस्रो कुरा नेटवर्किङ्ग । अहिले म जुन क्लासमा पढिराखेको छु, हाम्रो स्कूलमा करीब ९१ देशका विद्यार्थीहरु छौं । बिहान, दिउँसो, बेलुका, लाइब्रेरी, पढ क्लासमा उभ । संसारका बारेमा बुझ्न पाइयो । आˆना कुराहरु पनि राख्न पाइयो । यो सम्पत्ति भनेको बाँचुञ्जेलको सम्पत्ति हो । भोलि मलाई त्यो विधामा केही अप्ठ्यारो पर्यो भने म भोलि कसैलाई इमेल गर्न सक्छु, फोन गर्न सक्छु र तपाईले मलाई मद्दत गर्नुपर्यो भनेर आग्रह गर्न सक्छु । यसले गर्दाखेरि यो नेटवर्किङ्ग असाध्यै ठूलो कुरा हो । र, अर्काे एउटा एक्स्प्लोजर भन्छ नि । संसारका विभिन्न नेताहरु, विद्धानहरु र प्रतिष्ठित क्षेत्रका मान्छेहरु ल्याएर उनीहरुले धेरै कार्यक्रमहरु गरिराखेका हुन्छन् । यतिधेरै अवसरहरु छन्, जुनसुकै क्षेत्रमा पनि केही बुझ्न चाहने हो भने पाउन सक्ने अवसर छ र यी सबैकुराहरुले गर्दाखेरि नै शायद हारवर्डले आफूलाई प्रतिष्ठित संस्थाको रुपमा राख्न सकेको हो कि जस्तो मलाई लाग्दछ ।
० तपाई यो भन्दा पहिले अमेरिका कहिले आउनुभएको थियो ?
- म १९९५ देखि आउन थालेको हो । कहिले १० दिन, कहिले १५ दिन, कहिले दुई हप्ता, तीन हप्ता गरेर ५/६ चोटि आएँ होला ।
० अमेरिकी समाजको सबैभन्दा राम्रो पक्ष के लाग्यो तपाइलाई ?
- खुलापन । प्रजातन्त्र । हेर्नाेस्, अमेरिका बाँचेको नै जुन उनीहरुको ओपन सोसाइटी छ, प्रजातन्त्र छ र विश्वास छ यहाँ । रुल अफ ल, कानुनले राज्य गरेको छ । यसले बचाएको छ अमेरिकालाई । यहाँको सुन्दरता भनेकै स्वतन्त्रता हो । स्वतन्त्रता भन्दा ठूलो दुनियाँमा अर्थाेक केही पनि रहेन छ ।
० नराम्रो पक्ष ?
- मैले त्यति धेरै व्यहोर्न त पाएको छैन । मैले क्लासहरुमा र अरु साथीहरुसित कुरा सुन्दाखेरि चाँहि व्यक्तिमुखी जीवन पद्दति यहाँको सबैभन्दा ठूलो समस्या हो । र, अर्काे पारिवारिक विग्रह, छ हरेक परिवारमा । कि आमा बाबुको डिभोर्स भएको छ, कि उसले अर्काे विवाह गरेको छ, कि छेडेको छ । यस्तो किसिमका जुन सामाजिक समस्याहरु जुन छन्, यसलाई मैले विकराल रुपमा देखें । यसले गर्दा धेरै मान्छेहरुमा सुख छ, सम्पन्नता छ तर भित्रै आत्मादेखि सन्तुष्टि मैले कमैमा पाएको छु ।
० अमेरिकी शिक्षा नीति र नेपालको नीतिलाई कसरी तुलना गर्नुहुन्छ ?
- तुलना गर्ने ठाउँ नै छैन, कसरी गर्ने । नेपालमा मैले पढ्नका लागि पढ्नुपर्यो, पास गर्नलाई पढ्नुपर्यो । मलाई सर्टिफिकेट चाहियो । तर यहाँ चाहिँ जान्नलाई पढ्ने हो, सिक्नलाई पढ्ने हो । यहाँको टेक्निक भनेकै तपाईले जान्ने गरेर पढ्नोस् । यसले गर्दा हत्केलाको दुईवटा पाटोजस्तै फरक छ ।
० हामीले अमेरिकाबाट सिक्नै पर्ने कुराहरू के के हुन् ?
- मलाई एउटा त जुन हिसाबले स्वतन्त्रतालाई यिनीहरुले आˆनै मुलुकको विकास र संसारलाई ग्रहण गर्न सक्ने हतियारका रुपमा लिएर आए, त्यो हतियारलाई हामीले पनि प्रयोग गर्नु सिक्नुपर्छ भन्ने मलाई लाग्छ । यिनीहरुले सबै कुराहरुलाई केमा केन्द्रविन्दु गरे भने राज्य व्यवस्था, संरचना, राज्यको संरचनालाई हेर्नाेस्, सबै नै स्वतन्त्रतामा आधारित छ । केन्द्र सरकार छ, पावर केन्द्र सरकारसित छैन । सबै शक्तिजति तलको सरकारमा छ । यसले गर्दा ती कम्युनिटीले मेरो आवश्यकता के हो, मलाई के चाहियो भनेर विकासलाई केन्द्रविन्दू बनाउन सकेका छन् । यी कुराहरु हामीले सिक्नुपर्छ । दोस्रो, यिनीहरुले स्वतन्त्रतालाई परिभाषित र प्युरिफिकेसन गरेका छन् । चुनावमा उमेद्वार हुनलाई प्राइमरीमै महाभारत हुन्छ । यसले गर्दा असल, क्षमतावान् र निष्कलंक मान्छेमात्रै नेतृत्वदायी भूमिकामा पुग्न सकोस् भन्ने हिसाबले हरेक पदमा यो कुरा लागू गरेका छन् । जिम्मेवारीको पदमा पुगेको मान्छेमा निश्चित नैतिक मूल्य र मान्यता यहाँको राजनीतिले खोज्छ, यो कुरा पनि हामीले सिक्नुपर्छ ।
अर्काे मैले पहिले पनि भनें, उत्तरदायित्व । हालसालै न्यूयोर्कको गर्भनरको एउटा केसलाई हेरौं । उसको नजिकको कोही मान्छेले प्रहरीमा प्रेसर दियो अरे भन्ने भएपछि उसको कुर्सी हल्लियो, उसले चुनावमा नजाने स्थिति आयो । स्टुडियमको कुनै टिकट उसको परिवारको कुनै सदस्यले निःशुल्क लिएको थियो अरे भन्ने कारणले गर्दा इथिकल कमिटीमा उसले वयान दिनु परेको छ । भनेपछि केले अमेरिका बाँचेको छ ? हाम्रो मुलुकको कुरा गर्नुहुन्छ भने मन्त्री पद छाडेको १५ वर्ष भयो, त्यो मन्त्रालयको मोटर उसले जबरजस्ती लिएको छ र अहिलेसम्म चलाएर हिँडिराखेको छ । कसैले माग्न गयो भने उल्टै हिर्काउँछ कि भनेर डराउनुपर्छ । यस्ता कुराहरुमा हामीले अमेरिकाबाट सिक्नुपर्ने हुन्छ ।
० यहाँ आएपछि अमेरिकाको उच्च ओहोदामा रहेका कुनै मान्छेलाई भेट्ने मौका पनि पाउनुभयो कि ?
- खासै छैन । यहाँका सम्मानित व्यक्ति भनेका प्रोफेसरहरु हुन्, वहाँहरुसित भेट हुन्छ, कुराकानी हुन्छ । बाँस जति अग्लो भए पनि निहुरिन्छ भन्छ्न् नि, त्यो देखिन्छ यहाँ । अहम् भन्ने छैन यहाँका मान्छेमा । जति माथि गए पनि नम्र छ । शालीन छ, समझदार छ । यसले गर्दाखेरि सबैभन्दा असल क्वालिटी मैले यहाँका उच्चपदस्थहरु प्रोफेसरहरुमा पाएँ ।
मेरो अरु सरकारी मान्छेहरुसित खासै खेटघाट भएको छैन । क्लासमै पनि स्टेट लेजिसलेचरहरु छन्, अरु देशका पनि केही उच्च पदस्थहरु छन् । हालसालै मैले पूर्व राष्ट्रपति कार्टरलाई चाँहि भेटें । वहाको नेपालप्रतिको माया मोह, सद्भाव जुन छ, त्यसबारेमा मेरो वहाँसित कुराकानी भएको थियो । यहाँका मान्छेमा अहम् र बडप्पना मैले देखिँन, यहाँको सबैभन्दा ठूलो कुरा यही हो । अर्काे मलाई सबैभन्दा घत परेको कुरा चाँहि काम जे गर्छाै गर । कसले के काम गर्छ भनेर कसैलाई नसोध । हाम्रोमा चाहिँ चियो चर्चाे हुन्छ, कसको छोरा कहाँ काम गर्छ, कति पैसा खान्छ, उसको पद के छ, उसको कुर्सी कस्तो छ, हाम्रोमा यस्तो हुन्छ । यहाँ त ल हेर्नाेस् त । कामको सम्मान हुने मुलुक हो । कामको सम्मानले गर्दा नै अमेरिका अमेरिका भएको हो । मैले यो महसुस गरें ।
० जिम्मी कार्टरसित भेटघाट भयो ?
- भएको थियो । मैले एटलान्टा घुम्न गएका बेला कार्टर सेन्टरमा गएँ र वहाँ र वहाँकी श्रीमती दुबैजनासित भेट गरें । एकछिन गफसफ गर्न पाइयो । वहाँ नेपालप्रति सद्भाव राख्नुहुन्छ, चिन्ता छ । नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने उहाँ चाहनुहुन्छ । नेपाली जनतालाई शुख शान्ति मिलोस् भन्ने वहाँ चाहना राख्नुहुन्छ । असल मान्छे हो, त्यही भएर मैले आएको बेला भेटिहालौं भनेर भेटेको हो ।
० नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कार्टरले कत्तिको चासो राख्नुभयो ?
- चासो पनि र चिन्ता पनि राख्नुभयो । वहाँले सोध्नुभयो-’संविधान बन्छ ? संविधान बनेन भने के हुन्छ ?’ हेर्नाेस् त अमेरिकाको राष्ट्रपति भैसकेको मान्छे, वहाँले नेपाललाई कत्ति नजिकैबाट हेर्नुहुँदोरहेछ । वहाँको चासो र चिन्ता भनेकै नेपालमा शान्ति र स्थिरता होस् भन्ने छ ।
० संविधानसभाको चुनावमा वहाँको नेतृत्त्वमा पर्यवेक्षण भएको थियो, त्यो अलिकता विवादास्पद पनि बन्यो नि । यसमा वहाँले केही गुनासो गर्नुभएन ?
- वहाँले त्यस्तो गुनासो त खासै मसित गर्नुभएन । त्यो लेबलको मान्छेले त्यस्ता कुराहरु त गर्दैन हेर्नाेस् । त्यो विवाद हाम्रो संस्कारले ल्याएको हो । सबैलाई मैले जित्छु भन्ने थियो कसैले जिते, कसैले जितेनन् । हजारौं उम्मेद्वार उठेका थिए, जित्ने त २ सय ४० जनामात्रै थिए । हार्नेजति विभिन्न रपमा जाने भए, त्यसैले हामीले दोष दियौं । अरुलाई दोष दिने भन्दा पनि हामीले आफैंले आफैंलाई बुझ्ने संस्कार विकास हुनुपर्दछ ।
० तपाईले अमेरिकाको कर्मचारीतन्त्रलाई पनि कत्तिको बुझ्नु भयो ?
- खासै यहाँको कर्मचारीतन्त्रमा मैले प्रवेश गरेको छैन । तर साथीहरु छन् क्लासमा । उनीहरुसित कुरा हुन्छ । फरक त अवश्यै छ । यहाँका हरेकालाई मेरो रोल के हो, मैले के गर्नुपर्छ, मेरो सीमा के हो भन्ने सबै कुरा थाहा छ । हाम्रोमा त्यो समस्या छ । जसले जे गरे पनि हुने संस्कार हाम्रोमा छ । अर्काे यहाँ कामसित सबै कुरा निर्भर गर्छ, काम गर्नाेस् सबै अवसरहरु पाइन्छन्, हाम्रोमा काम गर्ने भन्दा पनि मुढे बल अथवा सिफारिस अथवा प्रेसर आदिले काम गर्छ । दिनभरि आफू कुर्सीमा बसेर काम नगर्ने अनि राम्रो मूल्यांकन गराइदे भनेर नेताहरुकोमा चाहिँ धाउने । यस्तो संस्कार भएको मुलुक छ हाम्रो । यसले गर्दा धेरै फरक छ । तुलना गर्ने ठाउँ नै छैन ।
० अमेरिका आएर नेपालीहरुसित पनि घुलमिल हुनुभयो होला । यहाँ रहने नेपालीहरूको अवस्था कस्तो पाउनुभयो ?
- दुईखालको छ । अलि अगाडि आउनुहुने वा पछि आएर पनि आˆनो प्रोफेसनल काममा लाग्नेहरुको बसाइ एक किसिमको छ भने कामको खोजीमा नेपालको अभाव, दुःख आदि कारणले गर्दाखेरि वैध अथवा अवैध रुपमा यहाँ आएर केही गरौं, केही कमाऔं भनेर आउनुभएका दाजुभाइको अवस्था चाहिँ अप्ठ्यारो देखें । न्युयोर्कमा पनि हेरें, अन्त पनि हेर्दाखेरि वहाँहरुको जीवन चाहिँ निकै नै अप्ठ्यारो छ । तर, सन्तुष्टि चाहिँ के लाग्छ भने जहाँ जहाँ प्रोफेसनल जिम्मेवारी पाएर नेपालीहरु बसेका छन्, आˆनो ठाउँमा राम्रो गरेका छन् । उदाहरणका रुपमा वहाँहरु प्रस्तुत हुन सक्नुभएको छ । यसले गर्दा गर्व लाग्छ । युनिभर्सिटीहरुमा, इन्स्िटचुसनहरुमा वहाँहरुले गरेका सकारात्मक काम र छविलाई हेर्दा गर्व लागेर आउँछ ।
० पढाइ सकेपछि नेपाल फर्किने ?
- यहाँ बसेर मैले के गर्नु र ? कर्मभूमि त्यही हो, त्यहीँ जाने । अब त्यहीँको माटोमा भिज्ने हो ।
० अब के सोच्नुभएको छ ? फेरि कुनै अनुरोध वा अवसर आएमा फेरि सरकारी सेवामा जाने सोचाइ छ ?
- ए उत्तम जी, एउटै मान्छेले कति चाहना राख्ने ? कति खाने ? मैले खाइसकें । अब पनि मैले सरकारको चाहना राख्नुहुन्छ ? सरकारी नै खाने भए मैले हिजो किन छाडें ? यो प्रश्न आउँदैन र ? त्यत्रो भएको पोजिसन छाडेर फेरि सरकारी जागिर खायो भने त यो भन्दा अर्काे गैर जिम्मेवारीपना मबाट हुँदैन । यसले गर्दा म के गर्छु भन्नेकुरा मलाई नै थाहा छैन । म परमात्मामा विश्वास गर्छु, त्यसैले परमात्माले जे लेखेको छ, त्यही होला भन्ने ठान्छु । त्यसैले म यही गर्छु, मेरो मिसन यही हो भन्ने कुरा केही पनि छैन । म ओपन छु । नेपाल जान्छु । हुनसक्छ आराम गर्न पनि लेखेको होला ।
० यत्रो राम्रो युनिभर्सिटीमा पढेर धेरै ज्ञान,शीप लिएर गएको मान्छेको ज्ञान शीप नेपाल सरकारलाई चाहिँदैन र ?
- यो एक वर्षमा आएर कति नै सिकें होला र ? मैले जानेको कुरालाई सरकारी पदमै बसेर मात्रै गर्न सकिन्छ भन्ने पनि त छैन, जहाँ बसेर पनि स्वतन्त्ररुपमा राखेर पनि सर्भिस गर्न सकिन्छ । त्यसैले मैले आफूलाई ओपन राखेको छ । तर, मेले सुत्नुचाहिँ हुदैन । सुतें भनेचाहिँ म बेइमान ठहरिन्छु । मैले आफूले जानेको कला, शीप र कौशललाई मुलुक, समाज र राष्ट्रको हित र विकासको निमित्त के दिन सक्छु, मैले दिनुपर्छ । त्यो जसरी दिने मौका पर्छ, म त्यसरी नै दिन्छु । यसरी दिन्छु भन्ने मसित छैन ।
०राजनीति गर्ने सोच छ कि ?
- भयो, त्यत्रो मान्छेहरु हुनुहुन्छ, वहाँहरुले गरिहाल्नुहुन्छ नि । अहिले ओभर क्राउडेट छ नेपालको राजनीतिमा । म अर्काे थपिएर बढी क्राउडेट बनाउनु हुँदैन । त्यहाँ भएका मान्छेले नै पर्याप्तता छ ।
० अन्त्यमा अमेरिकामा तपाईलाई लागेको अविस्मरणस्य पक्ष केही छ कि ?
- तपाईहरुले मलाई दशैंमा बोलाउनुभएको थियो, नेपाली समाज, ग्रेटर बोस्टनले आयोजना गरेको समारोहमा । त्यहाँ गएपछि मलाई साँच्चै नेपालमा गएको अनुभूति भयो । अहिले म यहाँ टोपी लगाएर बसेको छु, अहिले म नेपालको कति भागमा टोपी लगाएर जान सक्दिँन । मैले टोपी फुकाल्नुपर्छ । तर त्यो कार्यक्रममा सबे नेपालीले आˆनो भेषभुषा आदिबाट सानो नेपालको जीवन्तता राखेको देखें, मलाई असाध्यै खुशी लाग्यो । श्रद्धा लागेर आयो । यो त मैले उदाहरणका रुपमा लिए । यहाँ त्यस्ता हुनुहुन्छ, जसले यहाँबसेर नेपाललाई श्रद्धा गर्नुभएको छ, चिन्ता गर्नुभइको छ, कसरी नेपाललाई सुधार्न सकिन्छ, म के योगदान गर्न सक्छु भनेर नेपालीहरुप्रतिको जुन माया र समर्पण पाएँ, अमेरिका बस्दाखेरिको सम्झना मेरो यही नै हुन्छ । मलाई चिन्ता चाहिँ कहाँनेर लागेको छ भने यहाँहरुको जुन किसिमको चिन्ता, समर्पण बोलिवचन छ, त्यसलाई हामी नेपालमा बस्ने नेपालीले कसरी प्रयोग गर्ने प्रश्न यहाँ छ । र, यो प्रश्नको उत्तर खोज्नपट्ट ितपाई पनि लाग्नोस्, म पनि लाग्छु ।



Tweet This
Digg This
Save to delicious
Stumble it














