हरेक कुरामा बुवासँग तुलना हुन्छ: स्वरुपराज आचार्य

अन्तरवार्ता | Yuba Bahas | April 12, 2010 at 5:44 am


जन्मजात संगीतको सुर लिएर आएका स्वरुपराज आचार्य नेपाली सुगम संगीतमा नौलो नाम होइन । भजन शिरोमणी भक्तराज आचार्यका छोरा स्वरुपराजले चलचित्रमा पनि संगीत दिइसकेका छन । संगीतमा छुट्टै स्थान बनाएका स्वरुपराजले दाजु सत्यराज आचार्यसँग मिलेर धेरै लोकप्रिय गीत गाएका छन । एक दशकदेखि साँगीतिक क्षेत्रमा सक्रिय यी दाजुभाईले ‘सत्यस्वरुप’ ब्रान्ड नै बनाएका छन् । बद्नाम भएछु तिम्रै कारणले, काँडा त बिझ्यो विझ्यो, धेरै माया दिंदा रैछन गीत निकै लोकप्रिय छन् । स्वरुपराजसँग गरेको छोटो कुराकानी ।

० सुगम संगीतमा धेरैको ढुकढुकी बन्नु भा छ नि ?

- सायद भगवानले पनि साथ दिनु भएको होला । हामी दाजुभाईले पनि उत्तिकै मेहनत गरेका छौँ ।

० तपाईहरुको एल्वम चाहि कम आएको हो ?

- हामीले वि.स २०५४ मा लाहुरे दाई पछि २०५८ मा मुटु जलिरहेछ, त्यसपछि एउटामात्रै एल्बम बजारमा ल्यायौं । अरुले जसरी वर्षैपिच्छे ल्याएका छैनांै तर चलचित्र र अरुका कलेक्शन एल्वममा गाइनै रहेका छौँ ।

० चलचित्रको संगीतमा अलि बढी ब्यस्त हुन भए जस्तो छ ?

- हो । पछिलो समयमा ७, ८ बटा चलचित्रमा काम गरिसक्यो । निर्माता, निर्देशकले सत्य र मेरो कामलाई मन पराइदिनु भएको छ ।

० तपाइँहरु यो स्थानमा आइपुग्न अग्रज संगीतकार शम्भुजीत बाँसकोटाको पनि भुमिका छ भन्छन हो ?

- उहाँले नै पहिलो पटक बसन्ती फिल्मको शीर्ष गीत प्यारी वसन्ती गाउन दिनु भएको थियो । यो अवस्थामा हामी दुइ जना आइपुग्नुमा उहाँको ठूलो हात छ । उहाँ हाम्रो बुवापछिका बुवा, गुरुवा मार्गदर्शक हुनुहुन्छ । उहाँले मलाई त बम्बईमा लग्नु भएको थियो । त्यहाँ मैले भारतीय गायक, गायिकाहरुसँग उठबसको मौका पाएँ । उहाँका एल्बममा हामीले निरन्तर गाउने मौका पाइरहेका छौँ ।

० तपाईको पहिलो एल्वम कहिले आयो ?

- पहिलो एल्बम लाहुरे दाइ हो जुन, २०५४ रेकर्ड भएको थियो । मौन तिम्रो अधरले… गीतले हिट्स एफएम म्युजिक अवार्डमा नवप्रतिभा अवार्ड दिलाएपछि निकै उर्जा मिल्यो हामीलाई ।

० वरिष्ठ गायक भक्तराजको छोरा हुनुको फाइदा कस्तो रहयो तपाईको करिअरमा ?

- बुवाकै कारण आज हामी यो स्थानमा यति चाँडो आएका छौँ । उहाँकै कारणले धेरै कुरामा प्राथमिकता पाइरहेका छौँ । तर फाइदासँगै बेफाइदा पनि छन । हरेक कुरा बुवासँग तुलना हुन्छ । एकदमै राम्रो गायो भने पनि भक्तराजका छोरा भएपछि यति त गाउनै पर्‍यो नि भन्छन् र नराम्रो गायो भने भक्तराजका छोरा भएर पनि नराम्रो गाउने भन्छन् ।

० तपाईको वुबामाथि आक्रमण भएको भनिन्छ, त्यसको वास्तविकता के थियो ?

- २०४६ साल मंसीर १९ गते राति गोपाल योञ्जनको घरमा रियाज गरेर र्फकदा बौद्धको एक रेष्टुरामा बुवालाई गुण्डाहरुले निर्घात कुटपिट गरे । जसका कारण बुवाको टाउकोमा गम्भीर चोट लाग्यो । टाउकोमा मात्रै एक सय टाँका लगाउनु पर्‍यो । यो घटनाले हाम्रो परिवार क्षतविक्षत भयो । बुवाका लागि त्यो पिक टाइम थियो । उहाँका लागि महिनौँ कुर्ने संगीतकार, गीतकारहरु थिए । अहिले विचार गर्दा त्यो सुनियोजित षडयन्त्र जस्तो पनि लाग्छ ।

० अनि क्यान्सर कसरी भयो नि ?

- दुर्भाग्यको कुरा २०५० मा जिब्रोको क्यान्सर भयो । अनि त्यसपछि गायनबाट शिखरमा रहेको उहाँको त्यो जादुमयी स्वरमा गीत सुन्न नपाइने भयो । त्यसपछि हाम्रो घरमा एक दशक हारमोनियम बजेन । मान्छेहरु बलेको आगो ताप्ने रहेछन् । बुवालाई भेट्न आउनेहरुको भीड खै कता हरायो कता ।

० बुवाको क्यान्सरपछि तपाईहरु कसरी संगीततिर आउनु भयो ?

- क्यान्सरपछि हाम्रो घरमा जुन अवस्था आयो, त्यो सम्झदा गीतार र हार्मोनियम प्रति नै घृणा हुनुपर्ने हो । धेरै पीडा, दुःख खेप्दै बुवाकै पथमा लाग्यौं हामी । संगीतबाट केही गर्नुपर्छ भनेर कस्सियौँ । तर हामीसँग पैसा थिएन, धेरै संगीतकारकहाँ धायौँ तर केही पाएनौँ । हामीलाई त्यस्तो अवस्थामा पनि धेरैले झुलाए, अन्डरस्टीमेट गरे, तर हामी यसमा अझ बढी गहिरिएर लाग्यौँ । आˆनै मिहिनेतले २०५४ मा लाहुरे दाई नामक लिएर आयौं आएका हौ हामीहरु ।

Leave a Reply